भदौ ३१, झापा ।
जिल्लाको क्षेत्र नम्बर ५ मा सरकारले फुसको छानो हटाउँदै जस्ताको छानो लगाउन सुरु गरेको छ । विपन्न नागरिकका लागि भन्दै सरकारले यस्तो योजना ल्याएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका चार स्थानीय तहमा फुसको छानो हटाएर जस्ता राख्न लागिएको हो । यसका लागि सरकारले एक अर्ब ३५ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।
नागरिक सुरक्षा कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रमका लागि उक्त रकम छुट्याइएको बताइएको छ । यसमा २ हजार ७ सय ३० परिवारका लागि यस वर्ष छानो फेर्ने तयारी रहेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिएका छन् ।
यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६ सय १६ र गौरादह नगरपालिकामा ६ सय ६३ विपन्नका लागि छानो फेरिँदैछ । त्यस्तै कमल गाउँपालिकामा ८ सय ३० र गौरीगञ्ज गाउँपालिकामा ६ सय २७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई ५० हजार रूपैयाँ उपलब्ध गराइने भएको छ ।
त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अर्थात ‘जनता आवास कार्यक्रम’ मार्फत १ सय २० वटा घर निर्माण गरिने भएको छ । प्रत्येक घर निर्माणका लागि तीन लाख ५० हजार रूपैयाँ प्रदान गरिने र अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए ।
दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिकाका साथै कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि ४२ करोड रूपैयाँ खर्च हुने बताइएको छ ।
यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । आवास योजनाअन्तर्गत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ । (रासस)







