साउन, २५ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सबै पदाधिकारी निर्वाचित हुँदा अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको निष्कर्ष निकालेको छ । यहि निष्कर्ष अनुसार एमालेले अध्यक्ष बाहेक सबै पदाधिकारी मनोनित गर्ने गरी एमालेले स्थायी कमिटीबाट विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । ‘अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको छ । यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुन्छ,’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
अध्यक्ष र महासचिव मात्रै निर्वाचित किन ? भनी प्रत्रकारले प्रश्न गरे ।
जवाफमा एमाले प्रवक्ता ज्ञवालीले भने, ‘अध्यक्ष पार्टीको प्रमुख नेता हो । तर, उपाध्यक्ष महासचिव, उपमहासचिव लगायत सबै निर्वाचित गर्दा बिभिन्न अनुभवहरुको आधारमा अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको देखियो । त्यसकारण निर्वाचित भएपछि बाँकी पदाधिकारी चयन गर्ने भनिएको हो ।’
एमालेले आठौं महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए ।
तर पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला एकलौटी रुपमा विधान अधिवेशन गर्ने तयारीमा जुटेको ओली पक्षले अध्यक्ष र महासचिव बाहेक अन्य पद पछि मनोनित गर्ने प्रस्ताव अघि सारेको छ ।
विधान संशोधन गरेर पार्टीबाट वरिष्ठ नेता नराख्ने प्रस्ताव पनि अगाडि बढाइएको छ । बहुकेन्द्र निर्माण भएकाले वरिष्ठ नेताको पद नै नराख्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखिने भएको छ ।
निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता रहने प्रचलन एमालेमा छ । तर आठौं महाधिवशेनपछि माधवकुमार नेपाल र नवौं महाधिवेशनपछि झलनाथ खनाल वरिष्ठ नेता रहे । तर आठौंबाट अध्यक्षमा पराजित ओली र नवौंमा पराजित माधव नेपाललाई पनि वरिष्ठ नेता मनोनित गरिएको छ ।
विधान अधिवेशनका लागि चार समिति
एमालेले विधान महाधिवेशनका लागि विभिन्न चारवटा समिति गठनको प्रस्ताव गरेको छ ।
सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा भदौ २७ र २८ गते हुने विधान अधिवेशनका लागि चारवटा समिति प्रस्ताव गरिएको छ ।
जसमा राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली र सदस्यहरुमा वामदेव गौतम, रामबहादुर थापा (बादल), प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहेका छन् ।
त्यस्तै संगठनात्मक प्रतिवेदन मस्यौदा समिति संयोजकमा महासचिव ईश्वर पोखरेल र सदस्यहरुमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहेका छन् ।
विधान संशोधन मस्यौदा समिति संयोजकमा विष्णु पौडेल र सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह रहेका छन् ।
व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा (बादल) र सदस्यहरुमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहेका छन् ।







