‘गोकर्णको जग्गामा यतीले भन्दा ५० करोड बढी दिन्छु भनेबापत्त सम्पति सुद्धिकरणमा मुद्धा खेप्नुपर्यो’

साउन, २६ काठमाडौं । नपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले गोकर्ण रिर्सोटमा अरबौं रुपैयाँ भ्रष्टाचार भयो भनी संसदमा बोल्दा सम्पति सुद्धिकरणमा मुद्धा खेप्नुपरेको दुखेसो गरेका छन् ।

५ माघ २०७६ मा राष्ट्रियसभामा बोल्दै सांसद रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिए वापत यति होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफू तिर्न तयार रहेको भन्दै उक्त जग्गा आफुलाई भाडामा दिन माग गरेका थिए ।

त्यसदिन उनले भनेका थिए, ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ? छैन, किन दिँदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ ।’

तर, यहि भनाई संसदमा राखेबापत्त आफुले सम्पति सुद्धिकरणमा मुद्धा खेप्नुपरेको उनले बताएका छन् ।

मंगलबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘मैले यहि सदनमा उठाएको थिएँ– गोकर्ण रिर्सोटमा अरबौं रुपैयाँ भ्रष्टाचार भएको छ । र ५० करोड बढी तिर्न म तया छु भनेर भनेर भन्दा मैले सम्पति सुद्धिकरणमा मुद्धा समेत खेप्नुपर्यो ओली सरकारको पालामा । मैले बयान दिन पर्यो त्यो ५० करोडको स्रोत के हो ? भनेर । मैले भनेँ मलाई दिनुस अनि त्यो दिन म स्रोत देखाउँछु । ९९ प्रतिशत सेयर बेच्छु र एक प्रतिशत म आफु राख्न सक्छु, बैंक संग त्यसो हुन्छ र अरु व्यावसायीक कारोबारमा त्यो हुन्छ भने ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिएको थियो । त्यसबेला ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी सांसद रायमाझीले गर्दै आएका छन् ।

‘सांसद रायमाझीले गोकर्ण रिसोर्टलाई भाडामा जग्गा दिँदा भएको भ्रष्छटाचारबारे छानविनको माग राखेका छन् ।

‘त्यो गोकर्ण रिर्सोटलाई जुन अवस्थामा पुर्याइएको छ त्यो छानविन गर्नुपर्छ’ उनले भनेका छन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ साल मंसिर अन्तिम साता गोकर्ण रिसोर्टको २८ रोपनी जग्गा २५ वर्षका लागि यती होल्डिङ्सलाई लिजमा दिएको छ ।