आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता मिति र स्थान तोक्न कांग्रेस सांसद पन्तको आग्रह

साउन, २९ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डिला संगौला पन्तले वेलायतको लण्डनमा आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता समिति गठनको पहल गर्न सरकारलाई आग्रह गरेकी छन ।

शुक्रबार संसदमा सून्य समयमा बोल्दै उनले कुटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्ने पहल गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

‘म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु’ पन्तले भनेकी छन् ।

नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध छ रहेको र त्यो सम्बन्धको जग भनेको गोरखा सैनिकहरु भएको उल्लेख गर्दै उनले भनिन्, ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन् । उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो ।’

यस्तै, सांसद नारायण प्रसाद मरासिनीले पनि गोरखा सैनिकको समस्या समाधानबारे वेलायत सरकारसंग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरे ।