पहिरोले गर्दा जाजरकोटमा ७ हजार क्विन्टल बढी चामल माग

असोज २, जाजरकोट ।
बाढी पहिरोका कारण व्यापक क्षति भएपछि जाजरकोटमा स्वीकृत कोटाभन्दा १७ हजार क्विन्टल चामल थप माग गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत सो परिमाणको चामल पठाउन आग्रह गरिएको छ ।

सलह तथा बाढी पहिरोले सबै खेती सखाप पारेकाले खाद्य डिपो थप गर्न आग्रह गर्नुका साथै १७ हजार क्विन्टलभन्दा बढी चामल पठाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । यसअघि जाजरकोटमा १० हजार क्विन्टल चामल स्वीकृत कोटाभित्र रहेर ढुवानी हुँदै आएको थियो ।

हाल डिपो कार्यालय नायकवाडामा पाँच हजार र बिक्री केन्द्र काउलीमा चार हजार क्विन्टल चामलको कोटा थप गर्न माग गरिएको हो । यसैगरी चौखा डिपोमा चार हजार आठ सय, घोगीमा एक हजार, दशेरामा एक हजार दुई सय, ताँगामा दुई हजार पाँच सय र रजुतरामा तीन हजार दुई सय कोटा चामल माग गरिएको छ । टापुचौरमा दुई हजार, घरङ्गामा दुई हजार र दल्लीमा दुई हजार क्विन्टल चामल माग गरिएको बताइएको छ । (रासस)