असोज २, काठमाडौं ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने भनिएको रेल नेपाल आइसकेको छ । शुक्रबार मध्यान्ह १२ बजे नेपालमा रेल प्रवेश गरे पनि रेलसम्बन्धी कानून भने अझै बन्न सकेको छैन ।
रेल सञ्चालका लागि हालसम्म स्पष्ट कानून अभाव रहेको सरोकारवालाहरू बताउँछन् । रेल सम्बन्धी विधेयक संसदमा छलफलकै क्रममा छ । विधेयक पारित नभएसम्मका लागि रेलसेवा सञ्चालन गर्न कुनै पनि कानून अस्तित्वमा छैन ।
यद्यपि सरकारी पक्ष भने अध्यादेशमार्फत रेलसेवा दिने तयारी रहेको बताउँछन् । नेपाल रेल्वे कम्पनीले भने स्टेशन मास्टरदेखि कार्यालय सहयोगीसम्मको पदका लागि विज्ञापन खुलाइसकेको छ ।
सरकारले केही समय पहिले इञ्जिनीयर गुरु भट्टराईलाई कम्पनीको प्रमुखका रुपमा नियुक्त गरेको थियो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाइसकेको छ ।
कम्पनीले भदौ २९ मा डेढ सय भन्दा बढी पदका लागि दरखास्त आह्वाना गरेको हो । सरकारको योजना अनुसार दशैंसम्म यो रेल सञ्चालनमा ल्याइनेछ । तर रेलसेवाका लागि कानून कहिले ल्याउने पत्तो छैन ।
विधेयक संसद्मा छलफलका क्रममा छ । विधेयकले रेल्वे बोर्ड र कार्यकारी समितिको समेत कल्पना गरेको छ । रेल र यात्रुको सुरक्षा, चालक र सहचालकको योग्यता, अन्तरदेशीय रेलमार्गलगायत विषय विधेयकमा समेटिएको छ ।
नेपालमा अहिलेसम्म रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन भएको थियो । देशभित्रै र अन्तरदेशीय रेल सञ्चालनका लागि कतिपयमा पूर्वाधार निर्माण त कतिमा अध्ययन भइरहे पनि त्यससम्बन्धी छुट्टै कानून थिएन ।
यस्तो छ रेल
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा १२ सय देखि १३ सय सम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्नेछन् । यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
हाल यस ३५ किलोमिटर ट्र्याकमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । बिजलपुरासम्म गरी ५२ किलोमिटरमा छिट्टै रेल सञ्चालन हुने बताइएको छ ।
सरकारले आगामी बडादशैँ–तिहारसम्म सो रेल सञ्चालनको योजना बनाएको छ । नेपाल आइपुगेपछि सबै परीक्षण गरी रेल सञ्चालनमा ल्याइनेछ । रेल पूर्णरुपमा सञ्चालन गर्नुभन्दा पहिले भारतीय निर्माण कम्पनीलाई बोलाएर एक पटक अन्तिम जाँच गराइने महानिर्देशक मिश्रले जानकारी दिए ।
भारतको सरकारी कम्पनीमार्फत नै यो रेल सेट निर्माण भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरीद भएको हो । सो सेटमा एउटामा पाँच डिब्बा रहनेछ । दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । लामो समयदेखि ठप्प रेल्वे कम्पनीलाई नै सरकारले रेल सञ्चालनका लागि ब्यँुताएको हो ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्ष पछि काम शुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन ।
नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले रेल आएको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै समाप्त भएको थियो ।







