कात्तिक, ३० काठमाडौं । आज सर्वोच्च अदालतका पाँच जना न्यायाधीश आज इजलासमा बस्ने भएका छन् ।
न्यायाधीशहरू तेजबहादुर केसी, वमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. मनोजराज शर्मा र डा. कुमार चुडाल इजलासमा बस्ने बुझिएको छ ।
यसअघि उनीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूसँगै थिए । सोमबारदेखि भने उनीहरू अलग हुने अवस्थामा पुगेका हुन् ।
यससँगै जबराको आचरणलाई लिएर भएको विवादमा न्यायाधीशहरू नै फरकफरक कित्तामा उभिने देखिएको छ । ८ कात्तिकदेखि यी पाँच जनासहितका न्यायाधीशहरूले जबराले तोकेको इजलास अवज्ञा गर्दै आएका थिए ।
उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेका थिएनन् ।
तर, तीन सातापछि अवज्ञा गर्नेमध्येका पाँच न्यायाधीश इजलासमा बस्ने भएपछि बाँकी न्यायाधीशहरूको कदम के होला भनी चासोका साथ हेरिएको छ ।
कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसन मातहतका अधिकांश कानुन व्यवसायीहरू आन्दोलित छन् । धर्ना दिनेदेखि अनेकन दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।







