सप्तरी बलात्कार प्रकरण : दुई अभियुक्त पक्राउ

असोज २, सप्तरी ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिकाकी किशोरी बलात्कार प्रकरणमा दुई जना पक्राउ परेका छन् । मुख्य अभियुक्त भनिएका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीय १७ वर्षिया किशोरी संगिता मण्डललाई बलात्कार गरेको आरोपमा सुमन कुमार मण्डल र रञ्जित मण्डल छन् । उनीहरूलाई बिहुल गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले आरोपितमध्ये दुई जना अझै फरार रहेको र खोजी कार्य तिव्र पारिएको बताए । गत सोमबार संगीता धानखेतको पानी हेर्न जाँदा उनीमाथि गाउँकै चार युवकले बलात्कार गरेका थिए ।

किशोरीको बलात्कार गरिएको स्थान

घटनापछि गाउँकै पञ्चले प्रहरीकहाँ नजान र रूपैयाँ दिएर दुवैपक्षलाई मिल्न दबाब दिँदै आएको थियो । किशोरीले आफू प्रहरीमा जाने बताएपछि गाउँका पञ्चले उनलाई नजान चेतावनी दिएका थिए ।

त्यसपछि उनले घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । घटना मिलाउन दबाब दिने पञ्च भनिएका गाउँकै तीन जना पक्राउ परिसकेका छन् । बलात्कारका मुख्य आरोपी दुई जना पक्राउ परे भने दुई अझै फरार छन् ।