असोज ३, बाग्लुङ ।
शनिबार बिहानको अविरल वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध बनेको छ । पुष्पलाल लोकमार्ग पर्ने काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण शनिबार बिहानैदेखि लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।
जानकारी पाए लगत्तैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले जानकारी दिए । ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली खटिएको छ’, उनले भने, ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ ।’ (फाइल फोटो)







