मंसिर, २८ हाइटी । हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रशारित प्रारम्भिक रिपोर्टमा जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप–हैटियनमा भएको हो ।
घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए ।
उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका अधिकारीहरूलाई उद्धृत गरी न्यूज–२४ नामक स्थानीय समाचार संस्थाले उल्लेख गरेको छ ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।







