असोज ४, सिरहा ।
बोक्सी आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । नवराजपुर–५ की ४५ वर्षिया मूर्तिदेवी यादवमाथि कुटपिट भएको हो ।
स्थानीयले उनलाई कुटेर घाइते बनाएपछि उनको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आफन्तले बताएका छन् । गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उहाँका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए ।
‘गत भदौ २९ मा राति आमा घरमा सुतिरहनुभएको थियो’, उनले भने, ‘स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।’ कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की दिँदै आएको गणेशले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।







