असोज ५, जाजरकोट ।
जिल्लाको पश्चिमी भेगका नागरिकले सुरक्षा माग गरेका छन् । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन गर्दै हिँडेका सरकारी अधिकारीलाई स्थानीयले विप्लवको चन्दा आतंक रहेकाले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन समेत माग गरेका छन् ।
प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतङ्कले आफूहरू हैरान भएको भन्दै छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महतराले सुरक्षाको माग गरे । उनले भने, ‘हरेक योजनाबाट चन्दा उठाएर हैरान बनाएका छन्, यसरी कसरी काम हुन्छ ?’ अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायव उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीको टोली अगाडि यस्तो माग आको हो ।
प्रजिअ बरालले प्रहरी चौकीको स्थापना गर्न आफूले पहल गर्ने आश्वासन दिएका छन् । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई यस्तै यस्तै मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् ।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकीको माग, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन् । वर्षौँदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् । त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्याउनुपर्ने स्थानीयको भनाइ छ ।







