११ माघ, काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।
मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने विलम्व हुँदै गएको भन्दै सरकारलाई ताकेता गरेको हो । आयोगले यसअघि नै एचै चरणका स्थानीय तहको निर्वाचन गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ गते र वैशाख २२ गते चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई सुझाएको थियो । तर, आफ्नो सुझाव अनुसार सरकारले मिति तोक्नमा ढिलाइ गरेको भन्दै आयोगले पुन सरकारको ध्यानाकर्षण गरेको हो ।
गत कार्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेको थियो । गत पौष ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए र पनि सरकारले मिति नतोकेको भन्दै मंगलबार आयोगले विज्ञप्ती निकालेर सरकारलाई स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ ।
‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ’ आयोगले विज्ञप्तीम लेखेको छ, ‘…आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’
२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा स्थानीय तहको निर्वाच्न भएको थियो ।
निर्वाचन आयोगले पहिलो चरणमा भएको निर्वाच्नलाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाच्न भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको बताउँदै आएको छ । र जेठ ५ गते भित्र निर्वाचन गर्नका लागि निर्वाचन आयोगले पनि तयारी गर्नुपर्ने भन्दै आयोगले सरकारलाई निर्वाचनको मिति तोक्नका लागि पटक पटक ताकेता गर्दै आएको छ ।







