पाँच खाद्यपदार्थको गुणस्तर तोकी राजपत्रमा प्रकाशित

असोज ५, काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न पाँच खाद्यवस्तुको गुणस्तर तोकेको छ । गुदपाक, पुष्टकारी, चिउरा, दालमोठ र भुजियाको गुणस्तर तोकेर राजपत्रमा प्रकाशित गरिएको छ ।

गुदपाक र पुष्टकारीलाई विभागले दुग्धनिर्मित खाद्यपदार्थ भनेको छ । यी दुवैमा स्वभाविक खैरो रंग अर्थात् क्यारमल, चारित्रिक स्वाद र नरमपना हुनुपर्ने उल्लेख छ । यसमा वनस्पति घ्यू मिसिएको र अस्वभाविक स्वाद वा रंग हुन नहुने बताइएको छ ।

गुदपाकमा बढीमा जलांश २५ प्रतिशत रहनुपर्ने उल्लेख छ । कम्तिमा पनि ८ प्रतिशत चिल्लो पदार्थ र इस्ट तथा मोल्डको गणणा प्रतिग्राम २५ प्रतिशत हुनुपर्ने गरी गुणस्तर तोकिएको छ ।

पुष्टकारीमा जलांश बढीमा ६, चिल्लो पदार्थ ८ र फ्याट ६ प्रतिशत हुनुपर्ने तोकिएको छ । प्रोटिन कम्तिाम ८ प्रतिशत, भस्म ३ प्रतिशत र इस्ट र मोल्डको गणणा बढीमा प्रतिग्राम २५ प्रतिशत हुनुपर्ने बताइएको छ ।

एकपटक उत्पादनका लागि प्रयोग भइसकेको दुग्धजन्य पदार्थ फेरि प्रयोग गर्न पाइनेछैन । प्याकेजिङ गर्दा समेत यसमा प्रयोग भएका सामग्रीको मात्रा, मूल्य जस्ता जानकारी सहितको लेबलिङ गरी बेच्नुपर्ने नियम बनाइएको छ ।

चिउरामा जलांश बढीमा १३ प्रतिशत कायम राख्नुपर्नेछ भने ढुसी परेको वा किरा लागेको चिउरा भेटिएमा कानून अनुसार कारवाही हुने बताइएको छ । स्वभाविक रंग र बास्ना हुनुपर्ने बताइएको छ । यसमा ढुंगा वा बालुवा जस्ता पदार्थ ०.५ प्रतिशत भन्दा बढी भेटिए कारवाही हुनेछ ।

दालमोठमा पनि उत्पादन, प्रशोधन, भण्डारण तथा ढुवानीमा सही मापदण्ड पालना भएको हुनुपर्ने छ । प्याकेजिङ सहि तरिकाको हुनुपर्ने गरी गुणस्तर कायम राख्नुपर्ने उल्लेख छ ।