असोज ५, मोरङ ।
माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका वनसखण्डमा दुई छोरी बचाउन गएकी आमासमेतको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृतका ३५ वर्षिया सीता अधिकारी छिन् । उनकी दुई छोरीहरू १३ वर्षिया पवित्रा र ९ वर्षिया कृत्तिकाको पनि डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार दुई छोरीहरू डुब्न थालेपछि बचाउन गएकी सीताको पनि डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार दुई छोरी नुहाउन पोखरीमा पसेको जस्तो देखिएको छ । डिलमा दुवैको कपडा छन् । गहिरो पोखरीमा पौडी खेल्न भनी कान्छी छोरी कृत्तिका गएको तर उनी डुुब्न थालेपछि उनलाई बचाउन पवित्रा पोखरीमा पसेको देखिएको छ ।
तर उनले बचाउन नसकेपछि र उल्टै डुब्न थालेपछि आमा सीताले उनीहरूलाई बचाउन पोखरीमा हाम फालेकी थिइन् । तर गहिरो भएका कारण तीनै जना निस्किन सकेनन् । आइतबार साँझ प्रहरीलाई घटनासम्बन्धमा खबर गरिएको थियो ।
साँझपख तीनैजना नभेटिएपछि खोजी गर्दै जाँदा उनीहरूको शव भेटिएको थियो । सीताका श्रीमान् नौ वर्ष यता सम्पर्कविहीन छन् । उनी दुई छोरीसहित माइतीमा बस्दै आएकी थिइन् ।
प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । कान्छी छोरीले कपडा नलगाएको देखिएको छ भने जेठी छोरीले भित्री वस्त्र लगाएको देखिएको छ । आमा सीताले भने लगाएको लुगा जस्ताको तस्तै रहेको प्रहरीले जनाएको छ ।







