अमेरिकालाई बामदेवको आग्रह– नेपालको हितका एमसीसी फिर्ता गरिदेउ (विज्ञप्तीसहित)

२५ माघ, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् ।

प्रेस वक्तव्य जारी गर्दै गौतमले एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै फिर्ता लिन अमेरिकालाई नै आग्रह गरेका हुन् ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ । नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’ वक्तव्यमा गौतमले भनेका छन् ।

प्रेस वक्तव्य

एमसीसी फिर्ता लैजानु श्रेयस्कर

एमसीसी मिलिनियम च्यालेन्ज कर्पोरेशन गरीबी विरुद्ध भइरहेको लडाइमा नेतृत्व गर्नका निम्ति भनेर संयुक्त राज्य अमेरिकाले, एक नयाँ र स्वतन्त्र विदेश सहायता संस्थाको नाममा अगाडि सारेको परियोजना हो। तत्कालिन नेपाल सरकारको अनुरोधमा १४ सेप्टेम्बर २०१७ मा नेपाल सरकार र एमसीसीका बीच भएको सम्झौता पछि नेपाल पनि सो परियोजनामा सामेल भयो । सम्झौता बमोजिम नेपाल सरकारले आवश्यक रकम लगानी गरेको छ । त्यस बमोजिम नेपालमा एमसीसी परियोजना नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त लगानीको परियोजना भएको छ । सम्झौता र सहमति सार्वजनिक हुंदा साथ यसमा रहेका कतिपय प्रावधान र शर्तहरुका कारण नेपालका प्रमुख राजनीतिक पार्टीहरूका बीच गम्भीर विवाद शुरु भयो । स्वभाविक रुपमा जनमत पनि गम्भीर रूपमा विभाजित भएर प्रकट हुन थाल्यो । केही राजनीतिक पार्टीहरुले आवश्यक संशोधन गरेर स्वीकार गर्ने बीचको बाटो अवलम्बन गर्ने प्रस्ताब राखे पनि त्यो लागू हुन सकेन र अहिले लागू हुने सम्भावना झन् झन् न्यून हुँदै गएको छ ।

नेपाल र संयुक्त राज्य अमेरिका बीच सन् १९४७ मा दौत्य सम्बन्ध कायम भएदेखि आजसम्म घनिष्ट मित्रतापूर्ण सम्बन्ध रही आएको छ । त्यसबेलादेखि आजसम्म दुई मुलुकको मित्रतामा कहिल्यै विवाद र समस्या देखिएन । नेपाल प्राकृतिक रुपमा नै दुई महाशक्ति मुलुकहरु चीन र भारतका बीच अत्यन्त कुशलतापूर्वक सफल सम्बन्ध कायम गर्दै विकास भइरहेको मुलुक हो । त्यसबेलादेखि नै संयुक्त राज्य अमेरिकामंगको मित्रतापूर्ण सम्बन्धले नेपालको विकासका लागि अको आयाम थपिएको महशुस नेपाली जनताले गर्दै आएका छन्। तर एमसीसीसंग गरिएको सम्झौता पछि नेपाली जनताले अमेरिका प्रति गम्भीर आशंका व्यक्त गरिरहेका छन्। यो सम्झौताले नेपालका छिमेकी मुलुकहरुसंग सम्बन्ध विग्रने पोहो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ। सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आंच पुग्ने शंका गर्न थालिएको छ ।

उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ। नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र समद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न। यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न बिनम्र अनुरोध गर्दछ। यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न बिनम्र अनुरोध गर्दछु ।

वामदेव बामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियान

संयोजक

राष्ट्रिय सभा सदस्य