२९ माघ, काठमाडौं । गण्डकी बोर्डिङ स्कुल, राष्ट्रिय विद्यालय, लामाचौर पोखराले छात्रबृतिका लागि आवेदन माग गरेको छ ।
विद्यालयले सूचना निकालेर कक्षा ४ देखि १२ सम्मको लागि कक्षा ४ मा भर्ना हुनका लागि छात्रवृति खुलाएको हो । विद्यालयका प्रधानाध्यापक विरेन्द्र खड्काका अनुसार देशैभरबाट आवेदन माग गरिएको हो ।
उनका अनुसार विद्यालयले आफ्नै आयस्रोतबाट छात्रवृति खुलाएको हो ।
विद्यार्थीको आर्थिक हैसियत हेरेर आवाससहितको छात्रवृति, ७५ प्रतिशत, ५० प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ । यो विद्यालयले यस्तो छात्रवृति अघिल्लो बर्षबाट देशभरका लागि खुला गरेको हो । ‘अघिल्लो बर्षबाट देशभरका लागि आवेदन खुला गरेका हौं । त्यो भन्दा अगाडिदेखि नै हामीले यस्तो छात्रवृति स्थानीय स्तरमा प्रदान गर्दै आएका थियौं’ प्रधानाध्यापक खड्काले भने ।
उनका अनुसार अघिल्लो बर्ष ७ जनाले ४ कक्षामा पूर्ण छात्रवृति पाएका छन । उनीहरुले अब कक्षा १२ सम्म निशुल्क अध्ययन गर्न पाउनेछन् । पूर्ण छात्रवृतिमा पढ्ने बिद्यार्थीले बिद्यालय जिबनभर पढ्न एबम छात्रबासमा बस्न, खान कुनै पनि शुल्क तिर्न पर्दैन ।
छात्रवृतिका लागि आवश्वक बजेटको व्यवस्था स्वमं विद्यालयले गरेको छ । विद्यालयको आयस्रोतको केही हिस्सा गरिब विद्यार्थीमा लगानी गरिएको प्रधानाध्यापक खड्काले बताए । उनका अनुसार गण्डकी बोर्डिङ स्कुल राष्ट्रिय विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म १२ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
आगामी शैक्षिक सत्र २०७८ का लागि विद्यार्थी छनोट गर्न स्कूलले प्रवेश परीक्षा फाराम सम्बन्धी सूचना प्रकाशित गरेको छ । आगामी वैशाख ४ गते प्रवेश परीक्षा हुने र सोही दिन बिहान ८ बजे परीक्षा केन्द्रबाटै फाराम वितरण गरिने र ११ बजेदेखि लिखित परीक्षा सञ्चालन हुनेछ ।
सूचनामा देशभर ९ ठाउँमा परीक्षा केन्द्र तोकिएका छन् ।








