२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ।
२०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।
गत पुसमा भएको महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो भने केन्द्रीय कमिटी सदस्य पनि चयन गरेको थियो। तर पदाधिकारी चयन भएका थिएनन्।
महाधिवेशन हलले केन्द्रीय सदस्यहरूलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो। गत शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा पार्टी पदाधिकारी चयनबारे छलफल भए पनि त्यसअनुसार प्रक्रिया अगाडि बढेको छैन।
केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनाव तयारीमा लाग्ने छलफल भएको नेता महेन्द्रबहादुर शाहीले बताए। पदाधिकारीमा चयन गर्न समय कम भएको उनले बताए।
‘आकांक्षी धेरै भए पनि छलफल गरेर सहमतिमा जाने वा चुनावमा जाने भन्ने तय गर्न हामीलाई समय कम भयो,’ उनले भने, ‘चुनावको मुखमा मिटिङमा धेरै समय खर्च गर्न सकिन्न। चुनावपछि पार्टी पदाधिकारी चयन हुन्छ।’
माओवादीले केन्द्रीय कमिटीलाई पूर्णता भने दिने भएको छ।
एमसिसीलगायत विषयमा पार्टीभित्र नेताहरूले उठाएका आवाजबारे पनि आउँदो केन्द्रीय कमिटी बैठकमा छलफल गरिने नेता शाही बताउँछन्।
पार्टी नेता वर्षमान पुनले पोलिटव्युरोलगायत पनि आगामी बैठकले तय गर्नेछ। २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य पनि बनाउने पार्टीको निर्णय रहेको उनले बताए।







