फरार अभियुक्त ४५ वर्षपछि पक्राउ

असोज ६, स्याङ्जा ।
प्रहरीले डाका चोरीसम्बन्धी घटनामा फरार अभियुक्तलाई ४५ वर्षपछि पक्राउ गरेको छ । स्याङ्जाको हरिनास गाउँपालिकाका ६२ वर्षिय लालबहादुर लाम्जालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले २०३२ सालमा डाँका चोरीसम्बन्धी घटना गरेका थिए । उनी १७ वर्ष छँदा गरेको उक्त घटनामा जिल्ला अदालतले उनलाई ६ वर्ष जेल र ३१ हजार ५० रूपैयाँ जरिवाना सुनाएको थियो ।

तर घटनापछि उनी भागेर भारत गएका थिए । २० वर्षभन्दा लामो समय त्यहाँ बसेपछि फर्केर वैदेशिक रोजगारीका लागि मलेसिया समेत पुगेका थिए । त्यसपछि नेपाल बस्दै आएका उनको खोजी भएको थिएन ।

तर जिल्लामा फरार अभियुक्त पक्राउ गर्ने अभियान चलेपछि उनी पक्राउ परेका हुन् । उनलाई जिल्ला कारागार चलान गरिएको छ ।