असोज ६, लमजुङ ।
जिल्लामा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ साढे पाँच बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको मृत्यु भएको हो ।
जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा साढे आठ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सोही वडाका एक जना घाइते भएकी छिन् ।
सोही चट्याङ पर्दा २२ वर्षिय चिजा गुरूङ घाइते भएकी हुन् । उनलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ ।







