सत्तागठबन्धन : चुनावी तालमेलका तीन विकल्प

२७ फागुन, काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरु आगाी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न चाहन्छन् । स्वमं प्रधानमन्त्री शेरबहादुर देउवा नै आगामी चुनावमा गठबन्धन गर्नेबारे नेता÷कार्यकर्ताहरुसंग परामर्शमा छन र सोही अनुसार निर्देशित गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई मध्यावधि चुनावमा लैजान खोजेपछि ५ पुष २०७७ देखि केपी ओली नेतृत्वको सरकारविरुद्व एक ठाउँमा उभिएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनमा छन्

बिहीबार मात्रै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै आगामी स्थानीय तहको चुनावम गठबन्धन नगरी जाँदा कसैले पनि बहुमत ल्याउन नसक्ने बताए । यसले स्वमं सभापति गठबन्धना लागि अग्रसर रहेको देखाउँछ । तर, चुनावी गठबन्धनको फर्मुला के हुने ? भन्ने निक्र्योल भएको छैन् ।

यहि फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनपछि बसेको गठबन्धनको बैठकमा नेताहरुबीच गठबन्धनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारे छलफल भएको थियो । फर्मुला तय गर्न नसकेपछि आ–आफ्नो दलमा छलफल गरेर निर्णय लिने निर्णय भएको थियो । सोही निर्णय अनुसार चुनावी तालमेलको फर्मुलाको खोजीमा लागेका छन् गठबन्धनमा आवद्ध दलका दोस्रो र तेस्रो तहका नेताहरु ।

कांग्रेसका महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री लगायतका नेताहरु पछिल्लो समय दिनहुँजसो भेटिरहेका छन् । नियमित भेटको एउटा प्रम्ुख उदेश्य हो– आगामी चुनावी तालमेलको फर्मुला तय गर्ने । र यी नेताहरु बिभिन्न विकल्पमाथि छलफल गरिरहेका छन् । र मुख्यत तीन वटा विकल्प केन्द्रीत छलफल भएको नेताहरु बताउँछन् ।

एक– एमालेले जितेको ठाउँमा भागवण्डा
केही समय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत निर्वाचनमा जुन जुन दलले जितेको छ त्यहाँ सोही दलले उम्मेदवार उठाउने र एमालेले जितेको ठाउँमा भागवण्डा गर्ने प्रस्ताव गरेका थिए । तर, यो प्रस्ताव एक प्रकारले रिजेक्ट भइसकेको नेताहरु बताउँछन् ।

यसको कारण हो– गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । त्यसबेला माओवादी केन्द्रले कांग्रेसलाई छाडेको र कांग्रेसले माओवादी केन्द्रलाई छाडेको स्थानमै समस्या हुने भयो । पहिले छाडेको ठाउँमा फेरि छाड्न कांग्रेस र माओवादीको तल्लो कमिटी तयार हुन्छ ? नभए के गर्ने ? माथिबाट जबरजस्ती तालमेल भन्दा बागी उठ्ने वा अर्को दललाई भोट दिने स्थिति बन्यो भने के गर्ने ? यावत प्रश्नले प्रचण्डको प्रस्तावलाई रिजेक्टको ठाउँमा पु¥याएको हो ।

साथसाथै पहिलो पटक चुनाव लड्दै गरेको नेकपा एकीकृत समाजवादीको हकमा के गर्ने ? भन्ने प्रश्नको समाधान पनि प्रचण्डको प्रस्तावले नदिने नेताहरु बताउँछन् । तथापि, यो प्रस्तावलाई एउटा प्रस्तावको रुपमा गठबन्धनले लिएको र अन्य विकल्पहरुमा छलफल हुँदा उठ्ने गरेको नेताहरु बताउँछन् ।

हाल देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन् । ती स्थानीय तहमा १५०६ जना पदाधिकारी छन् ।

गत निर्वाचनमा एमालेले ६२५ पदाधिकारी जितेका थियो भने कांग्रेसले ४८९ र माओवादी केन्द्रले २१७ पदाधिकारी जितेका थिए ।

त्यस्तै, तत्कालिन संघीय समाजवादी फोरमले ६६, राष्ट्रिय जनता पार्टीले ५५, राप्रपाले १२, फोरम लोकतान्त्रिकले ११, राष्ट्रिय जनमोर्चाले ७, नेपाल लोकतान्त्रिक फोरमले ६, नयाँ शक्ति पार्टीले ३, नेमकिपाले २ र नेपाली जनता दलले २ पदाधिकारी जितेका थिए । ११ पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

दुई– महानगर र उपमहानगरमा मात्रै तालमेल
महानगरपालिका र उपमहानगरपालिका मात्रै चुनावी गठबन्धन गर्ने विकल्पमा पनि गठबन्धनभित्र छलफल जारी छ । र महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रले नै उम्मेदवार छनोट गर्ने यो विकल्पमा आएको प्रस्ताव हो । बाँकी सम्बन्धित कमिटीलाई जिम्मा दिने र सम्बन्धित कमिटीले आफु अनुसार चुनाव लड्ने प्रस्ताव यो विकल्प ल्याउनेहरुको छ । खासगरी यस्तो प्रस्ताव ल्याउने नेपाली कांग्रेसका नेताहरु हुन् ।

तर, यो विकल्पमा पनि प्रश्नहरु उठेका छन् । महानगरपालिका र उपमहानगरपालिका मात्रै चुनावी गठबन्धन गर्दा त्यसले स्थानीय तहमा गठबन्धन गर्नुपर्ने दबाब सिर्जना गर्छ कि गर्दैन ? स्थानीय तहमा गठबन्धन भएन र गठबन्धन बाहिरको दलको पकड रहने स्थिति आयो भने के गर्ने ? भन्ने प्रश्न छ ।

गठबन्धनका एक नेताका अनुसार स्थानीय तहले आफैँ गठबन्धन गरुन भन्दा समस्या हुन्छ । किनभने स्थानीय तहका नेताहरु हार्नका लागि तयार भएर पनि चुनाव उठ्छन् । उनीहरुको व्यक्तिगत हिसावले हेर्दा त्यो ठीक हुन्छ । किनभने हार्दा पनि मेरो पक्षमा यति मत खसेको भनेर आफैँलाई परीक्षण गर्ने अवसर हो भन्ने उनीहरुलाई पर्छ । हार्दा पनि राजनीतिक करिअल अगाडि बढ्ने विश्वाले एउटै दलभित्र उम्मेदवारका आकांक्षी धेरै हुने भएकाले चुनावी तालमेल आफैँ गर भन्दा त्यो प्रभावकारी नहुन सक्छ । अहिले गठबन्धन गर्न खोजेको पार्टीहरुले जित्ने गरी हो । हार्ने गरी नभएकाले स्थानीय तहलाई नै तालमेल गर्ने जिम्मा दिँदा पनि समस्या आउन सक्ने यो विकल्पमाथिको छलफलमा आएको छ ।

तीन– गठबन्धन गर्नैपर्ने तर, जिम्मा स्वमंलाई
बिभिन्न विकल्पमाथि छलफल भइरहँदा गठबन्धनका दोस्रो र तेस्रो तहका नेताहरु अर्को विकल्प पनि तयार पारेका छन्– गठबन्धन गर्नैपर्ने तर, जिम्मा स्वमंलाई । चुनावी तालमेल गर्नैपर्ने गरी केन्द्रले प्रेसर गर्ने, बागी उठ्न नदिने तर, उम्मेदवार छनोट गर्ने, भागवण्डा गर्ने अधिकार स्वमं स्थानीय पार्टी कमिटीहरुलाई दिने । यसो गर्दा स्थानीय तहमा पनि गठबन्धन बलियो हुने यो विकल्प राख्नेहरुको विश्वास छ ।

स्थानीय तहमा कुन दलको कति मतदाता रहेको भन्ने पार्टी कमिटीले तयार पारेको हुन्छ । त्यस अनुसार कसको हैसियत कति हो भन्ने यकिन हुने भएकाले सोही अनुसार भागवण्डा गर्न पनि सहज हुने उनीहरुको बुझाई छ । तर, केन्द्रबाट गठबन्धन गर्नैपर्ने गरी प्रेसर दिने र हैसियतका आधारमा उम्मेदवार भागवण्डा गर्ने फर्मुला यो विकल्पमा आएको छ ।

निर्णय गर्ने जिम्मा नेतृत्वलाई
स्थानीय तहको चुनावमा तालमेल गर्ने बिभिन्न विकल्पमाथि छलफल गरेर उपयुक्त विकल्प सुझाउने दोस्रो र तेस्रो तहका नेताहरुको तयारी छ । र कुन विकल्प कति जोखीम भन्ने समेत डिटेल दिएपछि त्यसमाथि शीर्ष नेतृत्वले निर्णय गर्ने नेताहरु बताउँछन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अहिले पार्ट भित्र र गठबन्धनका केही नेताहरु बसेर स्थानीय तहको चुनावी तालमेलको फर्मुलाकारे छलफल गरिरहेको बताउँछन् । केही दिन अझै छलफल हुने र शीर्ष नेतृत्व बसेर टुंग्याइने उनले बताए ।

नेता पौडेल गठबन्धनमा रहेका सबैलाई गठबन्धन चाहिएको बताउँछन् । र गठबन्धनको विपक्षमा कोही पनि नरहेको उनको जिकिर छ ।

नेताहरुका अनुसार नेतृत्वमा रहेको कांग्रेस चुनावमा गठबन्धन नगर्दा विगतमा जस्तै कम्युनिष्ट दलहरू एकताबद्ध हुनसक्ने त्रासमा छ । यहीकारण प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूले गठबन्धन अहिलेको आवश्यकता रहेकोमा जोड दिँदै आएका छन् । गठबन्धनका बाँकी दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा भने मुख्य दलसँग तालमेल नगरे अधिकांश ठाउँमा पराजित हुनुपर्ने भयबाट गुज्रिरहेका छन् ।

बरिष्ठ नेता पौडेल भन्छन्, ‘हामी सबै दलहरु गठबन्धन बनाएर जान तयार छौं । तर, फर्मुला तय भएको छैन् । साथीहरुले काम गर्नुहुन्छ । एक खालको फर्मुला यस्तो हुन सक्छ भन्ने भएपछि शीर्ष नेतृत्व बसेर टुंग्याउँछौं ।’