२७, फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।
देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ ।
सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’
एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ । ‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ’ उनले भने ।







