२७ फागुन, भैरहवा – आगामी ३० वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण भएको छ ।
मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले २०८ मतदान स्थल तोकेको हो । ती मतदान स्थलमा गत चुनावभन्दा ९४ वटा मतदान केन्द्र थपिन लागिएको छ ।
२०७४ सालमा भएको चुनावमा जिल्लामा पाँच लाख ३७ हजार १२१ मतदाता रहेका थिए । यस आर्थिक वर्षदेखि २४ माघसम्म मात्र कार्यालयले ९९ हजार १४४ जनाले फोटोसहितको मतदाता नामावली संकलनको गरेको थियो ।
कार्यालयले मतदाता नामावली विशेष कार्यक्रमअन्तर्गत दुई चरणमा जिल्लाका १४ वटा पालिकाबाट ४० हजार १३८ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ भने निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट ५९ हजार ६ जनाको नाम दर्ता भएको कार्यालयका कम्प्युटर अपरेटर (शाखा प्रमुख) विनोद भट्टराईले जानकारी दिए ।
हाल ६ लाख ३४ हजार ७९७ जना मतदाता छन । २०७४ मा भएको चुनावमा पाँच लाख ३७ हजार १२१ मतदाता रहेकामा अगामी चुनावका लागि ९७ हजार ६७६ मतदाता थपिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।







