स्थानीय तह निर्वाचन सम्पन्न गर्न कति लाग्छ खर्च ?

१ चैत्र, काठमाडौं । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेना वाहेकका निकायलाई करिव १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको हो ।

‘स्थानीय तहको निर्वाचनको लागि नेपाली सेनालाई कति रकम उपलब्ध गराउने भन्ने विषयमा निर्णय भइसकेको छैन । सेनाले प्रस्ताव पठाएको छ, अहिले त्यसमाथि छलफल चलिरहेको छ,’ अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डी प्रसाद निरौलाले भन्नु भयाे ।

सरकारले गत माघ महिनामा २०७८ वैशाख ३० गते एकै चरणमा देशका ७५३ स्थानीय तहमा निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसपछि सम्बन्धीत निकालयले निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई अनुरोध गरेका थिए । सम्बन्धित निकायका माग अनुसार अर्थले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रवक्ता निरौलाका अनुसार स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भइसकेको छ ।