६ चैत, किभ । रूसी आक्रमणबाट ८४७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले शनिबारसम्म रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिक र ६४ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो। धेरैजसो आर्टिलरी, रकेट, मिसाइल, एयर स्ट्राइक लगायत विस्फोटक हतियारबाट मारिएको कार्यालयले जनाएको छ। एक हजार ३९९ जना युक्रेनी घाइते समेत भएका छन्।
युक्रेनमा कार्यालयको निगरानी गर्ने टोली ठूलो संख्यामा खटिएको भए पनि धेरै क्षति पुगेको सहरहरूबाट मृत्यु हुनेको संख्या निकाल्न कठिन भएको हो। त्यसका बावजुद पनि ८४७ जनाले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको हो।
जसमा १५५ जना पुरूष र ११९ जना महिला छन्। यस्तै ६४ बालबालिका र ५०९ वयस्यकहरू रहेको कार्यालयले जनाएको छ।
वास्तविक मृत्युको संख्या भने अझै नखुलेको रोयटर्सले जनाएको छ। मृत्युको संख्या यो भन्दा बढी हुनसक्ने आँकलन गरिएको छ।
युक्रेनको राजधानी किभका अधिकारीहरूले शनिबारसम्म त्यहाँका २२८ मानिसहरू मारिएको बताएका छन्। जसमध्ये चार जना बालबालिका समेत छन्। किभमा मात्रै ९१२ मानिस घाइते रहेको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूका अनुसार सात हजार बढी रूसी सैनिकसमेत मारिएको गत बिहीबार न्युयोर्क टाइम्सको समाचारमा उल्लेख थियो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए।







