७ चैत्र, बिराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा महिला प्रहरीको हत्या घटनामा संलग्न दोषीलाई कारवाही गर्ने बताउनु भएकाे छ ।
सोमबार सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रहरी हत्याका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित बनेका स्थानीय र प्रहरीबीच गएराती भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको थियो।
आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीको अधाधुन्द आक्रमणमा परी आइतबार राति प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियाे । स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
अहिले घटनास्थल आसपासमा कर्फ्यू लगाइएको छ । लेटाङमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जनाइएको छ ।







