मधेशकै सिरहाबाट जितेर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ : प्रचण्ड

८ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७० सालको निर्वाचनमा दुई स्थानबाट चुनाव लड्दा काठमाडौंबाट आफू पराजित भए पनि मधेसकै सिरहाबाट भने विजयी भएर दोस्रो पटक प्रधानमन्त्री हुने अवसर मिलेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले प्रतिक्रान्तिकारीहरुकै षडयन्त्रका कारण संविधानसभाको दोस्रो निर्वाचनअघि माओवादी पार्टी विभाजित भएको बताए ।

१२ बुँदे समझदारी र शान्तिसम्झौतामा आउँदा नआउँदै मधेस क्रान्तिकारी कम्युनिस्टमय अर्थात् माओवादीमय भएको चर्चा पनि उनले गरे । उनले भने, ‘मधेस जब माओवादीमय भयो, शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रकृयालाई दुनियाँको कुनै तागतले रोक्न सकेन ।’ त्यतिबेला पनि शान्ति सम्झौता हुन नदिने, संविधानसभामा जान नदिने र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुन नदिन प्रतिक्रियावादीले अनेक चलखेल र षडयन्त्र गरेको उनले जिकिर गरे ।

‘त्यतिबेला नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने मान्छे, र पार्टीहरु अहिले पनि छँदैछन्,’ उनले भने, ‘तिनलाई देशी र विदेशी प्रतिक्रियावादीले मलजल गरिनै रहेका छन् ।’ आफूहरुको हतियार भनेको जनतासँगको एकता नै रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘हाम्रो संगठनलाई बलियो बनाएरमात्र त्यो प्रतिक्रान्ति, प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ ।’