नौ महिना बित्दा पनि सहज भएन चिनियाँ नाका

असोज ७, काठमाडौं ।
दशैं आउनलाग्दा पनि चिनियाँ नाका सहज हुन सकेको छैन । पछिल्लो नौ महिनायता नाका बन्द हुँदा व्यापारीलाई घाटा लागेको उनीहरू बताउँछन् ।

चिनियाँ नयाँ वर्षको कारण देखाउँदै माघ १५ मा बन्द भएको नाका अझै खुलेका छैनन् । त्यसपछि बाटोमा हिउँ परेको कारण देखाइयो । अहिले कोरोनाभाइरसको कारण देखाउँदै आयात निर्यात रोकिएको छ ।

यसले व्यवसायीको करोडौं रूपैयाँका मालसामान बाटैमा रोकिएका छन् । केही कुहिसके भने केही कुहिने अवस्थमा रहेको व्यवसायी बताउँछन् । चीनको स्थलमार्गबाट हुने सबै कारोबार ठप्प छन् ।

कुहिए कृषि सामग्री
हिमालय सीमापार व्यापार संघका अनुसार सीमामा झन्डै यसबीचमा एक सय ३० गाडी स्याउ कुहिए भने चीनबाट ल्याइएको लसुन र प्याज पनि सडकमै गाडी अलपत्र परेपछि कुहिएको छ । व्यापारीहरू सीमानाका बन्द भएकाले ऋणमा डुबेको बताउँँछन् । कतैबाट पनि सीमा नाका खोल्न पहल नहुँदा यो घाटा अझै बढ्न सक्ने त्रासमा उनीहरू छन् ।

व्यवसायीका अनुसार गर्मीका लागि भनेर ल्याइएका लत्ताकपडा सहितका कन्टेनर पनि नेपाल छिर्न पाएका छैनन् । गर्मी सकिएर जाडो आउन लाग्दा पनि ती वस्तुको बिक्रि वितरण त के नेपाल भित्र्याउन सकिएको छैन ।

‘नेपालका लागि सामान बोकेर आएका झन्डै दुई हजार वटा कन्टेनर पारी नै रोकिएका छन्,’ संघका अध्यक्ष बच्चु पौडेलले भने । चीनबाट केही मरमसलाका साथै मुख्य रुपमा लत्ताकपडा र इलेक्ट्रिक सामान आयात हुन्छ । पछिल्लो नौ महिनायता भने एउटा पनि ट्रक नभित्रिएको पौडेलले जानकारी दिए ।

केही खुल्ने फेरि बन्द हुने
चीन नेपाल सीमाना भौगोलिक हिसाबले निकै जटिल छ । पछिल्लो नौ महिनामा चिनियाँ प्रशासनिक कारण मात्र नभइ प्राकृतिक विपदले समेत मालसामान ढुवानीमा असर गरिरहेको छ ।

मुख्य नाका रसुवागढी र तातोपानी खुल्ने बन्द हुने भइरहेको छ । यसको एउटा कारण चीनतर्फको जटिल भौगोलिक अवस्था पनि हो भन्छन् पौडेल । उनका अनुसार गत पुषबाटै हिमपातका कारण उताको अवस्था खराब थियो ।

केही दिन नयाँ वर्ष मनाउने भन्दै चीनले आफ्नोतिरको नाका बन्द गरेको थियो । लगत्तै कोरोना महामारी देखिएपछि बन्द भएको नाका अझसम्म खुल्न सकेको छैन । चैत ९ बाट नेपालले पनि आफ्नो नाका बन्द गर्ने निर्णय गरेको थियो ।

चैत १२ मा व्यवसायीको आग्रहपछि नेपाल सरकारले मालसामानका लागि मात्र भन्दै नाका केही खुकुलो बनायो । तर विभन्न कडा शर्तका कारण निकै कम मात्र कन्टेनर भित्रिन पाए ।

अत्यावश्यक सामग्री भित्रिन दिने भन्दै चैत २७ मा स्वास्थ्य सामग्रीसहित तातोपानी नाका केही सहज भयो । तर अझै व्यवसायीक रूपमा सहज भइ नसकेको व्यवसायी बताउँँछन् ।

रसुवागढी नाका भने अझै पनि चीनका विभिन्न शर्तका कारण खुल्न सकेको थिएन । पछि असार २२ बाट दैनिक ४÷५ वटा कन्टेनर आउन दिनेगरी खुला गरिएको हो ।

निकै कम कन्टेनर मात्र छिर्न दिएपछि व्यवसायीले यो नाकाबाट सामान मगाउन सकेनन् । तातोपानी नाका पनि असार तेस्रो सातादेखि एक महिना पहिरोको जोखिमका कारण ठप्प भयो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भदौ २४ मा दुवैपक्षबीच नाका खोल्ने विषयमा वार्ता हुँदा पनि चिनियाँ पक्ष तत्काल नाका खोल्ने विषयमा उदार देखिएन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भने अनुसार स्वास्थ्य र अत्यावश्यक सामग्री आइरहेको भए पनि व्यवसायीक रूपमा नाका खोल्न माथिल्लो तहबाटै वार्ता हुनुपर्ने जनाएको छ ।