मध्यपहाडी लोकमार्गको बाग्लुङ–पर्वत खण्डमा पहिरो

असोज ७, बाग्लुङ ।
मध्यपहाडी लोकमार्गको बाग्लुङ–पर्वत खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मंगलबार साँझदेखि लगातार परेको पानीले कुस्मा नगरपालिका–१ को सहस्रधारामा बुधबार बिहान पहिरो गएको हो ।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो गइरहँदा बाटो अवरुद्ध हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सफा गराउन काम भइरहेको छ । स्थिति सामान्य रहे दिउँसोसम्ममा सडकको पहिरो हटाइसक्ने बताइएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी लगायतबाट आएका र ती जिल्ला जाने गाडी बीचमै रोकिएका छन् । साथै केही मालवाहक ट्रक पनि रोकिएको छ । (फाइल फोटो)