असोज ७, काठमाडौं ।
चीनले नेपाली भूमिमा कहिँकतै कुनै संरचना नबनाएको बताएको छ । उसले नेपाल चीन सीमामा कतै विवाद नरहेको उल्लेख गरेको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले प्रेसनोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रिय विवाद छैन । दुवै पक्षले सीमाबारे सधैँ निकट सम्बन्ध बनाएका छन् ।’ यस अघि हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमिमा भवन बनाएको कुरा सञ्चारमाध्यममा आएपछि यस्तो विज्ञप्ती आएको हो ।
आफूले सधैँ नेपालको भौगोलिक अखण्डता र सम्प्रभूताको सम्मान गरेको प्रेसनोटमा उल्लेख छ । समाचारमा आएअनुुसार उक्त भवन नेपाली भूमि नभइ चीनकै जमिनमा रहेको दाबी गरिएको छ ।
दूतावासका प्रवक्ता लुआन सिउतानद्वारा जारी प्रेसनोटमा नेपाली पक्षले चाहेमा यसको पुनः परीक्षण गर्न सक्ने बताइएको छ । ‘नेपाल र चीनबीच कुनै भौगोलिक विवाद छैन । दुवै पक्षले निकट रूपमा सञ्चार सम्बन्ध कायम गरेका छन्,’ नोटमा भनिएको छ ।







