‘फुड बैंक’ बाट साढे तीन सय भन्दा बढी परिवारलाई खाद्यान्न

असोज ७, तनहुँ ।
युवाहरूले जिल्लामा साढे तीन सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका छन् । डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको ‘फुड बैंक’ मार्फत दुई स्थानीय तहका तीन सय ८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको हो ।

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान अनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा तीन दिन र भानु–१ स्थित सालबिस्नेमा एक दिन गरी सात दिन फुड बंैकमार्फत खाद्यन्न वितरण गरिएको हो ।

कोभिड–१९ का कारण रोजगार गुमाएका, वृद्धवृद्धा, आपङ्ग, न्यून आए भएका र बिहान बेलुका खान धौधौ भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको गु्रपका संयोजक विक्रम गुरुङले जानकारी दिए । एक साता अघि डुम्रेबाट कार्यक्रम शुरू गरेको गु्रपले प्रतिपरिवार चार केजी चामल, एक पोका नुन, एक÷एक पोका तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो ।

फुड बैंक सञ्चालनका लागि गु्रपका सदस्यहरु, देश विदेशमा रहेका व्यक्ति तथा शुभचिन्तक दाताहरुबाट सहयोग जुटाएर सहयोग गरिएको संयोजक गुरुङले जानकारी दिए ।