चीनमा काराेनाकाे कहर : सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

एजेन्सी, वैशाख ७
चीनको सांघाईमा काेराेना भाइरसबाट बुधबार थप सात जनाको मृत्यु भएको छ ।

योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ । यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।