आयोगले भन्यो – चुनाव चिन्ह अंकित सामाग्रीको उत्पादन तत्काल बन्द गर्नू

‘चुनाव चिह्न अंकित टिसर्ट/गम्छा छापे एक लाख जरिवाना’

७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले चुनाव चिन्ह अंकित सामाग्रीको उत्पादन तत्काल बन्द गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।

बुधबार आयोगले विज्ञप्ती निकालेर आचारसंहिता विपरित चुनाव चिह्न अंकित सामाग्री उत्पादन तथा बिक्रि वितरण भइराखेको सूचना प्राप्त भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई मातहतका उद्योग र फर्मलाई चुनाव चिन्ह अङ्कित सामाग्रीको उत्पादन नगर्न नगराउनका लागि परिपत्र गर्न समेत आयोगले अनुरोध गरेको छ ।

उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट र पहिरनका साथसाथै स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्रि वितरण भइराखेको भन्ने सूचना प्राप्त भएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सम्पूर्ण गैरसरकारी वा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीहरुको पनि ध्यानाकर्षण भएको छ ।

राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता सबैलाई चुनाव चिन्ह अंकित सामग्री उपयोग र खरिद नगर्न समेत आग्रह गरिएको छ ।

अन्यथा एक लाख जरिवाना
निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई एक लाखसम्म जरिवाना हुने स्मरण गराएको छ ।

‘आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ’ विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन आयोगले गत चैत २५ गते देखि लागु हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याइसकेको छ । पालना नभएको सूचना आएको भन्दै आयोगले बुधबार विज्ञप्ती निकालेर राजनीतिक दलहरु र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरेको हो ।