सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

१४ वैशाख, एजेन्सी । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराए ।

यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाइ छ ।

मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताए । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।

सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् । रासस