स्थानीय चुनाव : मतदातामा पुग्ने होड

२१ वैशाख, काठमाडौं । बुधबारबाट कांग्रेसले देशभर चुनावी सभा आयोजना गर्दैछ ।

जहाँ पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेसले २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रुपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा चुनावी सभाको आयोजना गरेको छ ।

२५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालीको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना गरिएको छ जहाँ प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासहितका नेताहरु डा. शशांक कोइराला, महामन्त्री गगन थापा लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

साथै कांग्रेस पाँच दलीय सत्तागठबन्धनको संयुक्त चुनावी सभाको तयारीमा पनि छ । २२ गते चितवनको भरतपुर महानगरपालिकामा संयुक्त आमसभा आयोजना गरिँदैछ । २३ गते काठमाडौंमा संयुक्त आमसभा छ । जहाँ सत्तारुढ गठबन्धनमा रहेका पाँचै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सत्तारुढ गठबन्धन संयुक्त र एक्ला एक्लै प्रचारमा पनि छन् । एमालेको आक्रामक प्रचार उस्तै देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वमं देश दौडाहमा छन् । ओलीको सचिवालयका अनुसार उनले एकै दिनमा आधा दर्जन कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन् । एमालेका शीर्ष नेताहरु नै गाउँ गाउँमा गएर घरदैलो कार्यक्रम गरिरहेका छन् ।

नेपाली कांग्रेस प्रवक्ता प्रकाशसरण महत आफुहरु प्रचार होडमा रहेको स्वीकार्छन् । ‘देशका बिभिन्न ठाउँमा शीर्ष नेताहरुको सम्बोधन तालिका तय भएको छ । प्रचार अवधि कम भएकाले मतदाताको घरदैलोमा पुग्न पनि उत्तिकै हतार छ’ महतले भने ।

मतदानको दिन नजिकिँदै जादा राजनीतिक दल र उम्मेद्वारहरुमा प्रचार होड देखा परेको हो । यसलाई स्वभाविक मान्छन् नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली । उनी भन्छन्, ‘एकातिर एमाले र अर्कोतिर बाँकी दलहरु भएको अवस्थामा हाम्रो प्रचारशैली अरुको भन्दा बढ्ता प्रभावकारी हुनु जरुरी छ किनभने गठबन्धनले छरेको भ्रम त कम्तिमा चिर्नुपर्छ ।’

एमालेले गठबन्धन भन्दा अगाडि बढेर चुनावी सभा गर्दै आएको छ । उम्मेद्वारी दर्ता हुनु केही समय अगाडिबाटै अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढेको छ । दिनमा एक भन्दा बढी सभालाई सम्बोधन गर्नु ओलीलाई सामान्य बनेको छ ।