२३ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु बिहीबार चितवनको भरतपुर पुगे । भरतपुर पुगेर संयुक्त सभालाई सम्बोधन गर्दै उनीहरुले मेयर उम्मेदवार रेनु दाहालको जीत र हारले राजनीतिक समिकरण भर पर्ने प्रष्ट संकेत गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरे । चितवनका स्थानीय नेताहरुले पनि सम्बोधन गरे । सबै नेताहरुको सार चितवनको चुनावी परिणामसँग जोडिएको थियो ।
प्रचण्डले प्रष्ट शब्दमा भरतपुरको चुनावी परिणामलाई सत्ता गठबन्धनको मात्र नभई देशकै भविष्यसँग तुलना गरे । उनले चेतावनीको शैलीमा भने, ‘हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’
पाँच दलीय सत्ता गठबन्धन राष्ट्र र जनताको आवश्यकता हो, भनेर उत्साहपूर्वक मेयर उम्मेदवार दाहाल र उपमेयर उम्मेदवार चित्रसेन अधिकारीको टिमलाई विजयी गराएको खण्डमा सत्ता गठबन्धनलाई २० वर्ष लैजाने प्रतिबद्धता व्यक्त गरे । अर्थात, रेनु पराजित भए सत्तागठबन्धन टुट्ने उनको प्रष्ट अभिव्यक्ति छ ।
प्रचण्डको यस्तो संदेश सार्वजनिक रुपमै प्रकट भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कुटनीतिक चार्तुता देखाए । रेनु काम गर्ने मान्छे भएको भन्दै प्रशंसा गरे । राजनीतिक विश्लेषक कृष्ण पोखरेल नेपालमा गठबन्धनको संस्कृति नयाँ ढंगले विकास हुन खोजिरहेको बताउँछन् ।
उनी भन्छन्, ‘एउटा उदेश्यले बनेको गठबन्धन सत्ता र सक्तिका लागि एकले अर्कोलाई फकाएर, तर्साएर थप दरिलो बनाउने संस्कृतिको विकास हुन खोजेको देखिन्छ । यसले मुलुकलाई कुन दिशामा लैजान्छ त्यसले आउँदो पुस्ता नै प्रभावित हुने खतरा रहन्छ ।’
०७४ को चुनावबाटै गठबन्धनको संस्कृतिको विकासको अभ्यास भएको र पहिलो प्रयास असफल भएको भन्दै उनी ०७९ मा आइपुग्दा गठबन्धनकै नयाँ संस्कृति देखा परेको र एकतिर नमिल्दा सारा बिग्रनेगरी गठबन्धनको जालो फैलाइएको उनको विश्लेषण छ ।
०७४ को स्थानीय तहको चुनावमा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । तर, चितवनको भरतपुरमै अपेक्षित भोट नपाएपछि नयाँ गठबन्धनको अभ्यास गर्न पुगेको र त्यहाँ असहज भएपछि पुनः कांग्रेससँगको गर्न आइपुगेको भनी प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिनुले नयाँ अभ्यास असफल भएको देखाउने उनी बताउँछन् ।
‘वाम एकता र गठबन्धनको संस्कृति धेरैले पचाएको थियो । तर, बिचार र सिद्धान्तमा नजिक भएकाहरुको गठबन्धन असफल भएपछि राजनीतिक सिद्धान्तमा दुई धुर्वका मानिनेहरुबीचको गठबन्धन अगाडि बढेको छ । जसलाई कसिलो बनाउन देशभर जालो फैलाइएको छ जसलाई तोड्दा प्रचण्डले भने जस्तो देश नै दुर्घटनामा नपरेपनि राजनीतिक कोर्श नयाँ ढंगमा अगाडि बढ्ने निश्चित गरिएको छ ।’
पोखरेलका अनुसार कांग्रेस कम्युनिस्ट र समाजवादी दलहरुको गठबन्धन दल दलका बीचको गठबन्धन मात्रै छैन् । दलभित्रको गुटगत गठबन्धनलाई पनि मिलाईको छ । जसलाई तोड्दा दलहरु मात्रै विभाजित हुने छैनन् दलहरुको आन्तरिक लोकतन्त्रमा समेत असर पर्ने देखिन्छ ।
‘माओवादीलाई भरतपुर दिँदा एकीकृत समाजवादीलाई पोखरा महानगर दिनुप¥यो । काठमाडौं महानगर प्रकाशमान सिंहलाई दिँदा विराटनगर डा. शेखर कोइरालाको भागमा प¥यो’ यो भागवण्डा दलहरुभित्रको मात्रै छ त ?’ पोखरेलको प्रश्न छ ।
उपमहानगर, नगरपालिका, गाउँपालिकामा गठबन्धनमा रहेका दलभित्रका गुटको समेत व्यवस्थापन गरिनुले गठबन्धनको जालो भित्रैसम्म पुगेको देखिने उनी बताउँछन । तर, भित्रैसम्म पुगेको जालोमा विश्वासको कमी रहेको भने प्रष्टै देखिने उनी बताउँछन । उनका अनुसार देशभर गठबन्धन गरेको भएपनि वागी उम्मेदवार गठबन्धनबाटै उत्रनु, ठाउँ ठाउँमा केन्द्रीय निर्णयविरुद्ध जिल्ला र स्थानीय कमिटीले निर्णय गर्नु र उम्मेदवार उठाउनु यसैको उदाहरण हो ।







