५ जेठ, काठमाडौं । स्थानीय तहको प्रारम्भिक नतिजालाई लिएर सार्वजनिक रुपमा कुनै धारणा सार्वजनिक नगरेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मंगलबार बिहान संघीय संसदको अवरोध अन्त्य भएको विषयमा खुसी प्रकट गरे ।
२३ भदौ २०७८ देखि संघीय संसदमा अवरोध गर्दै आएको एमालेले मंगलबारबाट अवरोध अन्य गरेको छ । यही विषयलाई जोडेर नेता श्रेष्ठले एमालेले विवेक प्रयोग गरेको भन्दै वाम एकताको विषय कोट्याएका छन् । र वाम एकताका लागि सोच्न आग्रह समेत गरेका छन् ।
‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य ग¥यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपथ्र्यो । ढिलै भए पनि विवेकले काम ग¥यो । राम्रो ग¥यो,’ उनले लेखेका छन, ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’
२०७४ सालको स्थानीय चुनावमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए । पछि प्रदेश र संघीय चुनावमा वाम एक्ता भनेर नेकपा एमाले र माओवादी केन्द्रले एक भएर चुनाव लडेका थिए । पछि पार्टी एकता भएर पनि तीन वटा पार्टीमा विभाजित भैसकेको छ । बाम एकताबाट बनेको नेकपा फुटेर बनेका तीन वटै पार्टीले स्थानीय तहको चुनावमा भाग लिएर आफ्नो हैसियत अनुसार जनमत समेत प्राप्त गरिसकेको छन् । यो बेला फेरि नेपाली राजनीतिमा वाम एकताको चर्चा हुन थालेको छ । वाम एकताको चर्चा भैरहेका बेला नेता श्रेष्ठले सोचौं भनेर आग्रह नै गरेपछि यो बहसले थप माहोल बनाएको छ ।
नेता श्रेष्ठलाई उक्त स्ट्टास् पछि वाम एकताको आवश्यकता महसुस भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले जहिले पनि वाम एकताको महसुस भैरहने बताए ।
‘वामहरु छरिएर रहनुहुन्न भन्ने विषय सबै कम्युष्टिलाई परेकै छ । यसकारण वाम एकता महसुस गर्ने विषय होइन एकताका लागि तयार रहने हो’ नेता श्रेष्ठले भने । माओवादी केन्द्र एमालेसँग फेरि वाम एकता भनेर एक्ता गर्न तयार छ ? भन्ने प्रश्नमा उनी त्यसका लागि एमाले र एमाले नेतृत्वमा भर पर्ने बताए । ‘एमालेले विगतमा गल्ति भएको भनेर महसुस ग¥यो, गम्भिर आत्मसमिक्षा ग¥यो भने माओवादी वाम एकताका लागि जहिल्यै तयार छ ।’ चुनावी परिणामले पनि वाम एकताका लागि छलफलको वातावरण तयार गरेको उनको भनाई छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसँग चुनावी तालमेल गरेको भएपनि गरेको तालमेल अनुसार परिणाम आउन नसकेको उनको बुझाई छ ।
नेता श्रेष्ठको विश्लेषण छ, ‘पार्टीगत रुपमा हामी समिक्षा गरौंला कति आउन सक्थ्यो कति आयो र यसबाट कति उत्साहित हुने भनेर । तर, कम्युनिस्टबाट कांग्रेसमा भोट जाने कांग्रेसबाट कम्युनिस्टलाई भोट नआउने प्रवृति दोहोरिएर देखा पर्यो । यसले कांग्रेस कम्युनिस्ट तालमेलका लागि त समस्या देखिएकै छ ।’
नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन गर्दा कांग्रेसलाई मात्रै फाइदा भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि वाम एकताको संकेत गरेका छन् । तर, नेता नेपाल एमाले बिनाको बाम एकताको पक्षमा देखिएका छन् ।
‘केपी ओली प्रवृति रहेसम्म एमालेसँग वाम एकताको कुरा हुन्न । तर, नेपालमा हामी थुप्रै कम्युनिस्टहरु छौं सबै एकीकृत गर्नुपर्ने र नेपालको बाम आन्दोलनलाई एकीकृत गर्नुपर्ने नै छ’ नेता नेपाल भन्छन् ।
नेकपा एकीकृत समाजवादी गठबन्धनकै विषयमा आन्तरिक छलफलमा जुटेको छ । स्थानीय तहको चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेपछि आगामी प्रदेश र संघीय चुनावमा जाने रणनीतिमा एकीकृत समाजवादी जुटेको हो । नेताहरुका अनुसार साना कम्युनिस्ट पार्टीहरुसँग सहकार्य र एकता अगाडि बढाउने, संगठन विस्तारलाई तिव्रता दिने विषयमा नेताहरु केन्द्रीत भएका छन् । यत्ति मात्रैले प्रदेश र संघीय चुनावमा पार्टीलाई बलियो बनाउन अप्ठ्यारो हुने भएकाले गठबन्धनमा रहने तर, गठबन्धन रहँदा कस्तो व्यवहार गर्ने भन्नेमा धारणा र रणनीति तय गर्न नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
नेकपा एमालेका नेताहरुले पनि वाम एकताको आवश्यकता देखा परेको बताउन थालेका छन् । तर, नेकपा एकीकृत समाजवादीलाई हेर्ने अध्यक्ष केपी शर्मा ओलीको दृष्टिकोण नबदलिएसम्म माधव नेपाल नेतृत्वको पार्टीसँग समेत वाम एकता गर्ने विषयमा एमाले प्रष्ट नहुने नेताहरु बताउँछन् । तथापि, माधव नेपाल नेतृत्वको पार्टीलाई भने एमालेले पार्टी स्वीकार गरेको छ । ९ महिनादेखि माधव नेपाल नेतृत्वको पार्टीको अस्तित्व अस्विकार गर्दै संघीय संसदमा नाराबाजी गर्दै आएको एमालेले स्थानीय तहको प्रारम्भिक चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीको अस्तित्व स्वीकार गरेको छ ।
नेकपा एमाले नेता कृष्ण गोपाल श्रेष्ठ एकीकृत समाजवादी पार्टीलाइ आफुहरुले अस्वीकार गरे पनि जनताले स्वीकार गरिसकेपछि मान्नुपर्ने बाध्यता आइपरेको बताउँछन् ।
उनका अनुसार माधव नेपालले आफ्नै पार्टीलाई बलियो बनाउन नसकेपछि एमालेलाइ ठूलो दल हुनबाट रोक्न भूमिका खेले । ‘पार्टी फुटको असर एमालेलाई परेकै छ । यो अवस्थामा फुटेका साथीहरुलाई चित्त दुखाउने गरी जान हुन्न भन्नेमा एमाले पुगेको छ’ उनले भने ।
श्रेष्ठका अनुसार पार्टी नै एकता गर्ने विषय तत्काल सम्भव नभएपनि विगतमा फुटेका पार्टीहरु फेरि जुटेको इतिहासलाई हेर्दै फेरि पनि पार्टी एकता गरेर जाने वातावरण बनाउन दायित्व ठूलो दलको हैसियतमा एमालेको लिनका लागि र त्यस अनुसारको अग्रसरता लिनका लागि एमालेले संसदमा जारी रहेको अवरोध खुला गरेको हो ।







