असोज ८, काठमाडौं ।
सरकारले ल्याएको ‘विज्ञापन नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६’ अनुसार नेपालमा प्रसारित हुने विदेशी च्यानलहरूमा ‘क्लिन फिड’ लागू भइसक्नुपर्छ । अर्थात् अबको एक महिनापछि यी च्यानलहरू विज्ञापनमुक्त भइसक्नुपर्छ ।
ऐनका प्रावधान अनुसार यसरी क्लिन फिड नभए ती च्यानल बन्द गरिनेछन् । यस ऐनका लागि केही भारतीय च्यानलले क्लिन फिड गर्ने उपकरण भित्र्याउन लागेका छन् भने अन्य केही च्यानल र सेवा प्रदायक भने मतलब नभएसरी बसिरहेका छन् ।
केही भारतीय च्यानलहरूले नेपालमा आएर यहाँ च्यानल वितरण गर्नुअघि नै नेपालमा क्लिन फिड दिनेगरी तयारी गरिरहेको नेपाल केबल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । उनका अनुसार केहीले भने यसमा चासो दिएका छैनन् ।
इन्डिया ब्रोडकास्टर्स फोरमले कोरोनाका कारण समस्या भएको भन्दै क्लिनफिड लागू हुने समयसीमा बढाउन औपचारिक रूपमा नेपाललाई आग्रह गरेको छ । नेपालमा भारतीय च्यानल प्रसारण गर्ने सेवा प्रदायकलाई पनि सोही व्योहोराको पत्र पठाइएको छ ।
तर सरकारले भने ऐन लागू गराउन आफू पूर्ण रूपमा तयार रहेको बताएको छ । यसका लागि आवश्यक उपकरण र संयन्त्रको समेत व्यवस्था भइसकेको सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
क्लिनफिड लागू हुने मिति ऐनमै व्यवस्था भएका कारण पनि सार्न सक्ने अवस्था नरहेको मन्त्रालयका अधिकारी बताउँछन् । ती च्यानलले नवीकरण गर्दा नै क्लिनफिडको शर्त स्वीकारिसकेको मन्त्रालयको भनाइ छ ।
नेपालले निकै लामो समयदेखि क्लिन फिड लागू गराउन खोजिरहेको छ । साउन २०७४ देखि नै यो लागू गर्ने भनिए तापनि तयारी पुरा नरहेको कारण देखाउँदै सरकारले निर्णय स्थागित गरेको थियो ।
त्यसबेला नेपाली टेलिभिजन वितरकहरूले समेत विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । भारतीय च्यानलबाट पनि दबाब थियो । तर नयाँ सरकार आएपछि सरकारले ऐनमार्फत क्लिन फिड लागू गरेको हो ।
नेपालमा दुई सय भन्दा बढी विदेशी च्यानल क्लिनफिड बिना लागू हुन्छन् । यसमा भारतीय च्यानलको बाहूल्य छ । नेपाली दर्शक र बजारका लागि भारतीय च्यानलले विज्ञापनबापतको रकम पाउने गरेको छ ।
यसले नेपालको विज्ञापन बजारलाई नोक्सानी भइरहेको नेपाली विज्ञापन क्षेत्रसम्बद्ध संस्थाहरूको गुनासो छ । नेपालको विज्ञापन बजार हाल ६ अर्ब रूपैयाँ हाराहारीको छ ।







