डडेल्धुरामा सङ्क्रमित पुरूषको मृत्यु

असोज ८, डडेल्धुरा ।
जिल्लामा पहिलोपल्ट कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

उनी केही दिनअघि भारतबाट आएको बुझिएको छ । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याइएपछि उनलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार जिल्लामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो । बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको भट्टको भनाइ छ ।

मृतकको शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण ब्यारेकमा सम्पर्क भइरहेको बताइएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।