असोज ८, कञ्चनपुर ।
भारतीय अवरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो ।
पुनः स्थापना कार्यक्रमअन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएपछि झोपडीमा बस्दै आएका मुक्त हलिया परिवारले दुई वर्ष अघिदेखि घर निर्माणको कार्य शुरु गरेका थिए । तर निर्माण शुरु कार्य गरे भारतीय सीमा सुरक्षा बलले आएर अबरोध गर्न थालेपछि रातको समयमा प्लास्टिक छानो राख्नेसम्मको कार्य मात्र भएको मुक्त हलिया परिवारकी कमला सार्कीले बताइन् ।
‘छानो राख्न थालेपछि भारतीय सुरक्षाकर्मीले राख्न दिएनन्,’ उनले भनिन् । भारतीय सुरक्षाकर्मीले छानामा जस्तापाता राख्न नदिएपछि प्लाष्टिक राखेर मुक्त हलिया परिवार निर्माण गरिएको घरमा बस्दै आएका छन् । कमलाका अनुसार भारतीय सुरक्षाकर्मीले आफूहरुलाई सो क्षेत्र भारतमा पर्ने भन्दै घर बनाउन रोक्दै आएका छन् ।
‘भारतीय सुरक्षाकर्मीले घरमै आएर जग्गा खाली गर्नोस् भन्छन्,’ वर्षीया लक्ष्मी सार्कीले भनिन्, ‘भारतीय सुरक्षाकर्मीको धम्कीको बेवास्ता गर्दै रातिका बेला घर निर्माण गरेका छौँ । छानो राख्न नदिँदा निकै समस्या भएको छ । वर्षाको पानी प्लाष्टिकको छानोबाट भित्र छिर्ने भएकाले अनिदोमै रात काट्नु परेको छ ।’
भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिँदै आए पनि मुक्त हलिया परिवार वर्षौदेखि बस्दै आएका जग्गा छोड्न तयार छैनन् । निर्माण गरिएको घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् । खुला ढोका भएको घरमै उनीहरू बस्दै आएका छन् ।
‘नेपाली भूमिमै घर निर्माण गरेका छौँ’, खडकबहादुर सार्किको भनाइ छ, ‘यस क्षेत्रलाई छोडेर जादैनौँ । तीन दशक यसै ठाउँमा बिताएका छौँ । यो ठाउँ छाडेर अरु कुन ठाउँमा गएर बस्ने ? जग्गा भनेको यही नै हो । यत्तीका वर्ष यस क्षेत्रमा बसोवास गर्दा कसैले केही भनेनन् । अहिले भारतीय पक्षले जग्गा छोड्न दबाब दिइरहेका छन् ।’
नेपाली सुरक्षा निकायले भने नेपाली जग्गामै घर रहेकाले हटाउन नहुने भनिरहेको छ । मुक्त हलिया परिवार विगत ३० वर्षदेखि यस क्षेत्रमा बस्दै आएका छन् ।
विवादास्पद टनकपुर बाँध नजिकै घरबासका लागि मात्रै मुक्त हलिया परिवारसँग जग्गा रहेको छ । मुक्त हलिया परिवार एलानी जग्गामा बस्दै आएका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया परिवार नेपाली भूभागमा वर्षौदेखि बस्दै आएकाले सरकारले पुनः स्थापन कार्यक्रमअन्र्तगत घर मर्मतका लागि रकम उपलब्ध गराएको बताउँछन् ।
नेपाली भूभागमै बस्दै आएका मुक्त हलिया परिवारमाथि भारतीय शुरक्षा निकायले पटकपटक आएर धमक्याउने कार्य कदापी सह्य नहुने उनको भनाइ छ । पूर्वसीमा सर्वेक्षक मानसिंह भण्डारी मुक्त हलिया परिवार बस्दै आएको नेपाली भूभाग भएको बताउँछन् । ‘मुक्त हलिया परिवार वर्षौदेखि त्यस क्षेत्रमा बस्दै आएका छन्,’ उनले भने, ‘त्यो भूभाग नेपालको हो । टनकपुर बाँध निर्माण गर्दा भारतीय पक्षले सीमा स्तम्भ बाँध भित्र पारेपछि अनावश्यक बखेडा झिक्दै आएको छ ।’ (रासस)







