१७ असार, काठमाडौं । राष्ट्रियसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधिसभामै फिर्ता पठाएको छ ।
राष्ट्रियसभाले संदेशसहित फिर्ता पठाएको तीन वटै विधेयकलाई प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधिसभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पुर्ण रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक असार २० गते बोलाइएको छ ।
यी चार वटै विधेयक पुनः प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ । यी विधेयकहरु आगामी साउन १ गतेदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणिकरण भइसक्नुपर्ने हुन्छ । राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणिकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ।
अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री जनादर्न शर्माको राजीनामा माग्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठन गरिनुपर्ने एमालेको शर्त छ । आफुहरुको मागको सुनुवाई नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।
एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जेल आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए। उनले अर्थमन्त्री शर्माले देशद्रोही र घातक काम गरेको उल्लेख गरे।
एमालेको अनुपस्थितिका बीच राष्ट्रिय सभाले बजेट आश्रित विधेयक पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएको छ।







