रामेछापको लुभुघाटमा बस दुर्घटना: घटनास्थलमा ९ र उपचारको क्रममा ३ जनाको मृत्यु

२१ असार, रामेछाप। रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान १० बजे लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।

दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। चार जनालाई हेलिकप्टरबाट लगिएको थियो। त्यसमध्ये थप तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा ६ वटा खसी–बोका समेत मरेका छन्।

प्रहरीले बसका चालक बसका चालक दोलखाका प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएको छ। चालकले बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन्।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहनुका साथै मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको प्रहरीले बताएका छन्।

दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक राजु ढकालले बताए ।