काठमाडौँ । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुरिएको नुवाकोटको बेत्रावतीस्थित एउटै घरभित्र दुई दर्जनभन्दा बढी शव फेला परेका छन् । विदुर नगरपालिका–१० स्थित घण्टीघरनजिकै रहेको एक ठूलो भवनभित्र सामूहिक रूपमा शवहरू भेटिएपछि स्थानीय क्षेत्र स्तब्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बाढीले पुरेको उक्त घरको एउटै कोठाभित्र ठूलो सङ्ख्यामा शवहरू फेला परेका हुन् । लगातारको वर्षा र रात परेका कारण सोमबार साँझसम्म शवको सटीक सङ्ख्या एकिन गर्न कठिन भए पनि मङ्गलबार बिहानैदेखि सुरक्षाकर्मीको टोली परिचालन गरी शव निकाल्ने काम पुन: अघि बढाइएको प्रहरीले जनाएको छ ।
विदुर नगरपालिका–१० का वडा सदस्य मङ्गल तामाङका अनुसार स्थानीयको आग्रहमा ड्रोन प्रयोग गरी अनुगमन गर्दा उक्त घरभित्र धेरै शवहरू लहरै परेको देखिएको थियो । त्यसपछि सशस्त्र प्रहरीसहितको उद्धार टोली घरभित्र प्रवेश गरी खोजी गर्दा कम्तीमा २२ वटा शव फेला परेको उनले जानकारी दिए ।
सोमबार सुरक्षाकर्मीको टोलीले उक्त घरबाट ५-६ वटा शव बाहिर निकालेको छ भने अझै १६ वटाभन्दा बढी शव सोही भवनभित्रै अड्किएका छन् । बाढी आएको धेरै दिन भइसकेकाले भेटिएका अधिकांश शवहरू सडेर-गलेर पहिचान नै गर्न नसकिने अवस्थामा पुगेका छन् ।
भदौ १० गते आएको भीषण बाढीका क्रममा ओत लाग्न वा ज्यान जोगाउन उक्त ठूलो भवनभित्र छिरेका मानिसहरू बाढी र लेदोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । बाँकी शवहरू निकाल्न र तिनको पहिचानका लागि सुरक्षा निकायले मङ्गलबार बिहानैदेखि थप सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाएको छ ।







