२१ असार, काठमाडौं । लामो समयदेखि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा बारे उनको दल नेकपा (माओवादी केन्द्र) र सत्ता गठबन्धनका शीर्ष नेताले मौनता देखाएका छन्।
बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको शर्मामाथि आरोप छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद्मा शर्माको राजीनामा माग गरेर जेठ १४ गतेको मन्त्रालयको सीसीटीभीको फुटेज सार्वजनिक गर्न चुनौती दिएको थियो। तर, सो दिनको फुटेज नै डिलिट भएको मन्त्रालयले बताएपछि शर्मा झन् विवादित बनेका छन्।
पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र डा गोविन्द केसीले सोमवार विज्ञप्ति जारी गरेर शर्मालाई पदबाट हटाउन दबाब दिएका थिए।
प्रमाण नै नष्ट गराएको भन्दै शर्माले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि बताएका थिए।
शर्मालाई पदबाट हटाएर छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने एमालेको माग छ। उक्त मागलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पन्छाउदै आएका छन्।
प्रधानमन्त्री देउवा पनि शर्माबारे मौन छन्। शर्मालाई हटाउनुपर्ने भन्दै कांग्रेसकै नेताहरुले देउवालाई दबाब दिइरहेको भए पनि देउवाले भने जवाफ फर्काएका छैनन्।
उनले सरकारका अरु मन्त्रीहरुसँग पनि शर्माबारे केही कुरा नगरेको र गठबन्धनमा पनि उक्त विषयबारे छलफल नभएको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए।
‘गठबन्धनमा पनि छलफल भएको छैन। प्रधानमन्त्रीले केही भन्नुभएको छैन अर्थमन्त्रीका बारेमा,’ श्रेष्ठले भने।
आइतवारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा पनि शर्माको आलोचना भएको थियो। तर, माओवादी केन्द्रले भने शर्मालाई सरकारबाट फिर्ता बोलाउने÷नबोलाउनेबारे केही निर्णय गरेको छैन।
माओवादी केन्द्रका नेताहरुले अनौपचारिक कुराकानीमा शर्माले राजीनामा दिनुपर्ने बताउने गरेको भएपनि पार्टीका बैठकहरुमा शर्माको राजीनामालाई एजेण्डा बनाएका छैनन्। प्रचण्डले मंगलवारको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर आफ्नो निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बोलाएका थिए
तर, चौतर्फी आलोचित बनिरहेका शर्माबारे माओवादी केन्द्रका नेताहरुले प्रश्न नगरेपछि उनको दलले उनलाई फिर्ता बोलाउने सम्भावना कम छ।







