२४ असार, काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी सञ्चार माध्यम एनएचकेले जनाएको छ ।
नारामा पुनः हुन गइरहेको माथिल्लो सदनको निर्वाचनको प्रचारप्रसारका क्रममा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो । त्यसपछि बेहोस भएका उनलाई तत्काल एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पु¥याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए ।
आबेलाई गोली प्रहार गर्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले गोली हान्नुको कारण भने खुलेको छैन।
आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए। अहिलेको सत्तारूढ दलमा पनि उनको बलियो प्रभाव रहेको थियो।







