धुमधामका साथ मनाए मुस्लिम समुदायले बकर इद

२६ असार, काठमाडौं । मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इद (ईद उल अजहा) आज धुमधामका साथ मनाइएको छ।
देशभरका मुस्लिम समुदायहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढी धुमधामका साथ बकर इद मनाएका छन् । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाइने गरिन्छ।

आज नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बली दिने गर्दछन् । उनीहरुले नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् ।

बकर ईद पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।