सीपीसीका विदेश विभाग प्रमुख लिउ आइपुगे काठमाडौं, आजै प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई भेटने

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन।


चार दिने भ्रमणका लागि नेपाल आएका लिउ आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने छन् ।

विदेश विभाग प्रमुख जियानचाओको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आज बेलुकी होटल मेरियटमा रात्रिभोजसमेत आयोजना गरेका छन् ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउ केही दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउको नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । यस्तै, लिउले असार १६ मा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग द्वीपक्षीय भर्चुअल संवाद गरेका हुन् ।

जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । पहिलो विदेश भ्रमणको लागि जियानचाओले नेपाल रोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।