श्रीलंकामा प्रदर्शनकारीद्धारा प्रधानमन्त्री कार्यालय कब्जा

असार २९, कोलोम्बो। श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालय कब्जा गरेका छन्।

कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा बुधबार बिहानैदेखि प्रदर्शनकारीहरूको भिड थियो। बाक्लो संख्यामा तैनाथ गरिएका सुरक्षाकर्मीले समेत नियन्त्रणमा लिन नसक्दा सुरक्षाकर्मीहरुले अश्रुग्यास प्रहार गरेका थिए। झडपमा दुबैतिरका केही मानिस घाइते भएका छन्।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले जोगाउन नसक्दा प्रदर्शनकारीले बार भत्काएर प्रधानमन्त्री कार्यालय भित्र पसेका थिए।

राष्ट्रपति गोटवाया राजापाक्षे भागेर माल्दिभ्स पुगेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति पनि छन्। प्रदर्शनकारीहरूले विक्रमासिंघेले पनि राजीनामा दिनु पर्ने माग गरिरहेका छन्।

गत शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जामा लिएका थिए।
सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेका राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।

श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ।

विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको हो।