एम अधिकारी प्रकरण : गर्भनरमाथि नैतिक प्रश्न

३० असार, काठमाडौं । नेकपा एमालेले अर्थ तथा योजना विभागमा खोटाङका ‘एम अधिकारी’ सदस्यका रुपमा छन् । ती एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । संसदमा पनि यस विषयमा प्रश्न उठेको छ तर, एम अधिकारी को हो भन्नेबारे एमाले मौन छ ।

एमाले मौन रहेपछि गर्भनरमाथि नै सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मिनबहादुर विश्वकर्माले भने, ‘गर्भनरजस्तो जिम्मेवार व्यक्तिले कुनै एउटा पार्टीको सल्लाहाकार भएर नेपालको आर्थिक अवस्था जटिल बन्दैछ भनिरहेका छन् । यो जनतालाई आतंकित गराउने कार्य तत्काल बन्द गरिनुपर्छ ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले त राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन कै माग गरेको छ । एमालेको अपानीमा अर्थ विभागमा समावेश एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका माओवादी केन्द्रका नेताहरुको छ । बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्, ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु ।’

एमालेको पार्टी विभागमा रहेको भनी गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठेको छ । तर, उनी मौन छन् । एमालेले पनि एम प्रसाद अधिकारी गर्भनर हो वा होइन प्रष्ट भनेको खुलाएको छैन् ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले त गभर्नर अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ ।

एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । ‘उनले प्राप्त गरेको दलीय जिम्म्ेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं’ अध्यक्ष पञ्चा सिंहले विज्ञप्तिमा भनेकी छन् ।

तर, एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै हुन् वा होइनन् भन्नेबारे केही खुलाएको छैन ।

बरु एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको भनी बचाउ गरेका छन् । उनले एम अधिकारी महाप्रसाद अधिकारी हो वा होइन भन्ने प्रष्ट नभनी उनले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको भनी बचाउ गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा थप लेखेका छन्, ‘स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ ।’