असोज ९, काठमाडौं ।
रौतहटका विजय राम घटनामा थुनुवालाई चरम यातना दिइएको निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले हिरासतमा रहँदा उनीलाई यातना दिइएको र सोही कारण उनको मृत्यु भएको उल्लेख छ ।
छानबिन टोलीले हाल गृह मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ । समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा तत्कालीन एसपी रविराज खड्का, डिएसपी ज्ञानकुमार महतो र सइ वीरेन्द्र यादवलाई विभागीय कारवाहीका लागि सिफारिश गरिएको छ ।
यसैगरी हिरासतमा गएर यातना दिएको भन्दै प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियाँलाई कानून अनुसार कारवाही अघि बढाउन प्रतिवेदनमा सिफारिश गरिएको छ । यी तीन जनालाई प्रहरी प्रधान कार्यालयले भदौ मध्यमै निलम्बन गरिसकेको छ ।
विजयको मृत्युपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तीन सदस्यीय समितिले हाल गृहसचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा तत्कलीन एसपी, डिएसपी र सइलाई विभागीय कारवाहीको सिफारिश गरिएको छ भने बाँकी तीन जनाले यातना दिएको निष्कर्ष निकाल्दै कानून अनुसारक कारवाहीका लागि सिफारिश गरिएको छ ।
यस्तो थियो घटना
साउन ३२ गत्ते बिहान रौतहट जिंगरवाका २० वर्षिय निरञ्जन रामकोे शव भेटियो । हत्या गरी गाउँबाट तीन सय मिटर परको पुरानो पोखरीमा फालिएको अवस्थामा उनको शव भेटिएको थियो ।
घटनामा निरञ्जन काम गर्ने नर्सरीका मालिकलाई पक्राउ गरियो । भदौ २ मा शेख आजादले प्रहरीसामु आफूले हत्या गरेको कबुले । आफ्नी बहिनीसँग सम्बन्ध रहेका कारण हत्या गरेको उनले बताएका थिए ।
तर फेरि प्रहरीले निरञ्जन हत्या आरोपमा १९ वर्षिय विजय रामसहित अन्यलाई पनि घटनाको चार दिनपछि पक्राउ गर्यो । हिरासतमै भएका बेला प्रहरीले उनको किड्नीमा समस्या आएकोले वीरगञ्ज नेशनल कलेज भर्ना गरिएको परिवारलाई जानकारी दियो ।
भदौ ७ गत्ते उनको मृत्यु भइसकेको थियो । परिवारलाई किड्नी बिग्रेर उनको मृत्यु भएको बताइयो । तर अस्पतालमा छँदा उनले अन्तिम समयमा आफूमाथि भएको व्यवहार भिडियामार्फत बताएका छन् । उनको शरीरमाथि निलडाम र कुटपिट गरेका चिन्ह थिए । त्यसैले परिवारजनले किड्नीका कारण नभइ कुटपिटबाट विजयको हत्या भएको दाबी गरिरहे ।
भिडियोमा विजयले बताएअनुसार उनलाई लाठीले हान्नेदेखि करेन्ट लाउनेसम्मका कार्य हिरासतमा भयो । उनले आफू निरञ्जन हत्यमा संलग्न नरहेको बताए पनि प्रहरीले यातना दिएको उनको भनाइ थियो ।







